प्रत्येक दिन थपिदै १२० नयाँ क्षयरोगी, वर्षेनी सात हजारको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

भक्तपुर, ६ माघ। नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात हजार बिरामीको मृत्यु हुने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाइ छ ।

नेपालमा जटिल प्रकारको बहुऔषधि प्रतिरोधी क्षयरोगीको संख्या एक हजार १०० रहेको केन्द्रको अनुमान छ । जसमध्ये ३५२ जना मात्र सम्पर्कमा आएका छन् । छसयभन्दा धेरै सम्पर्कमै आएका छैनन् । यो रोगका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा आशिष श्रेष्ठले बताउनुभयो । इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गरिन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्ने गर्दछ ।

केन्द्रका अनुसार डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ भने नेपालमा चार हजारभन्दा बढी डट्स सेन्टर रहेको छ ।

नेपालमा सर्ने रोगको जोखिममा क्षयरोग पहिलो स्थानमा रहेको केन्द्रको भनाइ छ । जसमा क्षयरोगीको यकिन तथ्यांक संकलन गर्न केन्द्रले राष्ट्रिय पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत राष्ट्रिय सर्वेक्षण शुरु गरेको छ ।

यही जनवरी १ देखि देशभरका ९९ वटा क्लस्टरमा शुरु गरिएको सर्वेक्षणको नतिजा सन् २०१९ को अन्त्यसम्म आउने केन्द्रका निर्देशक केसीले जानकारी दिनुभयो ।