सल्यान, ८ माघ । बस दुर्घटना हुँदा आज यहाँ तीन जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । रुकुमबाट दाङ घोराहीका लागि छुटेको कालिकामालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा रुकुम मुसिकोट नगरपालिका– ५ की ३४ वर्षीया पुष्पा खड्का केसी, रुकुम प्यौघाका १७ वर्षीय भीमबहादुर खड्का र सल्यान बागचौर नगरपालिका– १० की ७० वर्षीया छन्चरी विक रहेको छ र उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनमा परी घाइते भएका १७ जनाको सल्यानको श्रीनगरमा उपचार भइरहेको र सामान्य घाइते भएका सात जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको बसको घुम्तीमा स्टेरिङ नकटेपछि बस खोलामा खसेको जनाएको छ । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट आएको प्रहरीको टोली र स्थानीय युवाले उद्धार गरेका थिए । समयमै उद्धार गरिएकाले मानवीय क्षति कम भएको प्रहरीको भनाइ छ ।