सीमा विवाद समाधान गर्न सरकार आफै अग्रसर भएन : सीमाविद् श्रेष्ठ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,१० माघ ।सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार आफै अग्रसर नभएको आरोप लगाउनु भएको छ । सीमाविद् श्रेष्ठले वीरगंजमा नेपाल–भारतबीच पटक–पटक सीमा विवाद हुने गरेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सरकार आफै तयार नभएको स्पष्ट पार्नु भयो । उहाँले १५ वर्ष अघि पनि वीरगंजको सार्कीटोल र इन्रुवामा भारतसँग सीमा विवाद हुँदा त्यसलाई समाधान गर्न सरकार लागि नपरेको पनि स्मरण गराउनु भयो । नापी विभागमा पूर्व महानिर्देशक समेत रहनु भएका उहाँले अाज काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको भूमि भारतले मिच्दै आएको स्विकार गरेर अघि बढनुको विकल्प नरहेको तर्क पनि गर्नु भयो ।

सीमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सीमा विवाद समाधान गर्न ८ हजार ५ सय ५३ वटा सिमा खम्बा स्थापना तत्काल गर्नुपर्ने सुझाव पनि दिनु भयो । उहाँले कतिपय सीमा स्तम्भ लोप नै भईसकेका कारण पनि नेपाल–भारतबीच सिमा विवाद हुने गरेको स्पष्ट पार्नु भयो ।

सीमाविद् श्रेष्ठले नेपालले आफ्नो भूमिकाको रक्षा गर्न चुक्ने गरेको पनि बताउनु भयो । उहाँले नेपालका गरिव किसानलाई भारतीय सीमा सुरक्षा बलले पेलेरै पनि नेपाली भूमि मिचिएको स्मरण गराउनु भयो । सीमाविद् श्रेष्ठले वीरगंजको छपकैयामा भारतले सीमा मिचेको हो, होइन भन्ने प्रमाण जुटाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पर्नु भयो ।