काठमाण्डौ,१५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नया सरकार वर्तमान सरकार जस्तो राष्ट्रप्रति गैह्जिम्मेवार नहुने स्पष्ट पार्नुभएको छ । चेम्बर अफ कमर्शका नवनियुक्त पदाधिकारीलाई पार्टी कार्यालय धुमबराहीमा आज शुभकामना बधाई दिदै अध्यक्ष ओलीले नया सरकार लोकतान्त्रिक र विधिको सरकार हुने बताउनुभएको हो । विधानले नदिने, आवश्यकता भन्दा बाहिरका विषयमा राज्यलाई आर्थिक बोझ बोकाउने ढंगका सरकारका निर्णयले उसको राष्ट्रप्रतिको गैह्जिम्मेवारीलाई उजागर गरेको भनाई अध्यक्ष ओलीको थियो । उहाँले वर्तमान सरकारले देशको अर्थतन्त्र डामाडोल पार्ने काम गरेको दाबी पनि गर्नुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष ओलीले नया सरकार बनेपछि शेयर बजारमा असाधारण सुधार आउने दाबी पनि गर्नुभयो । बामगठबन्धनको सरकार बनेपछि शेयर बजार खस्कने लगायत विभिन्न किसिमका नकारात्मक प्रभाव देखिने भन्दै गरिएका प्रचारबाजीमा कुनै सत्यता नभएको भन्दै उहाँले उत्साहका साथ आफ्नो व्यवसायमा अघि बढ्न नविनिर्वाचित चेम्बरका पदाधिकारीलाई सुझाव दिनुभयो ।चेम्बरले आगामी कार्याकालका लागि राजेशकाजी श्रेष्ठको नेतृत्वमा नया कार्यसमिति चयन गरेको थियो । नवनिर्वाचित चेम्बरका पदाधिकारीलाई एमालेले बधाई तथा स्वागत कार्यक्रम गरेको हो ।