काठमाण्डौ,१८ माघ ।नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा उहाँहरूबीच ’वान टु वान’ वार्ता भएको हो । सो अवसरमा दुई देशबीचको सम्बन्ध र नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल केन्द्रित भएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली र स्वराजको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षीय संयुक्त छलफल भएको थियो । छलफलमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायत सहभागी थिए् । त्यस्तै भारतीय पक्षबाट विदेशमन्त्री स्वराज, विदेश सचिव, विदेश मन्त्रालयका प्रवक्तासहितका छन् ।
आज दिउँसो काठमाडौं आउनु भएका भारतीय विदेशमन्त्री स्वराजका लागि एमाले होटल सोल्टीमै रात्रिभोजको आयोजना गरेको थियो। ओलीको रात्री भोजमा पुगेका अधिकांश राजनीतिक दलका नेताहरुसँग स्वराजले भेटघाट गर्नु भएको थियो।
विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने भोलि बिहान भेट्ने कार्यक्रम रहेको छ । निर्वाचन सम्पन्न भएर वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि नयाँ बन्ने सरकार सँगको सम्बन्ध सुमधुर बनाउनका लागि भारतीय विदेश मन्त्री स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूत बनेर नेपाल आउनु भएको बुझिएको छ ।विदेशमन्त्री स्वराजले आफनो भ्रमणमा कुनै ठोस एजेन्डा नभएको बताए पनि भारतीय पक्ष पूर्ण तयारी र स्पष्ट एजेण्डासहित आएको विदेश मामिलाका जानकारहरुले बताएका छन ।

