काठमाडौँ, २५ माघ । संघीय व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन बुधबार सम्पन्न भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । यसअघि गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भए पनि कानूनी अड्चनका कारण निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न सकेको थिएन । दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिलाको उपस्थिति हुनुपर्ने कानूनी बाध्यताका कारण यसअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ भएको थियो ।
आयोगका प्रवक्ता नवराज ढकालले आज प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटमा कुन दलले कति सिट प्राप्त गरे भन्ने बाँडफाँड गरी आवश्यक विवरणसहित तीन दिनको समय दिएर दलहरुलाई पत्राचार गर्ने जानकारी दिनुभयो । विवरणमा दलहरुले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मत सीमा (थे्रसहोल्ड) तीन प्रतिशतभन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने उल्लेख छ ।
आवश्यक सबै तयारी र प्रक्रिया पूरा गरी दुवै सदनको सबै निर्वाचन परिणाम आगामी फागुन २ गते राष्ट्रपतिसमक्ष पेश गर्न आयोगले तयारी गरेको छ । आयोगले दुवै सदनको अन्तिम मतपरिणाम राष्ट्रिपतिलाई बुझाइसकेपछि सांसदको शपथ र नयाँ सरकार गठनको प्रक्रिया एकैसाथ अघि बढ्ने कानूनविद्को तर्क छ । कानूनविद् राधेश्याम अधिकारीले राष्ट्रपतिबाट संसद् बैठक आह्वानसँगै सांसदको शपथ ग्रहण हुने र सरकार गठन प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
त्यस्तै धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।