हेटौडा ,२६ माघ । प्रदेश नम्बर ३ एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित हुनु भएको छ । शुक्रबार ललितपुरमा भएको निर्वाचनमा पौडेल ५८ मतमध्ये ३४ मत प्राप्त गरी संसदीय दलको नेतामा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गर्नु भएको थियो । संसदीय दलको नेता निर्वाचित भएसँगै हेटौडा निवासी पौडेललाई मुख्य मन्त्री बन्ने बाटो खुला भएको छ । नवनिर्वाचित दलका नेता पौडेलले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले स्रोत र साधनले समृद्ध भएकाले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन कठिनाई नहुने पनि स्पष्ट पार्नु भयो । पौडेलले प्रदेश नम्बर ३ लाई समृद्ध बनाउने अठोट आफूसँग भएको दावी समेत गर्नु भयो । उहाँले प्रदेशको राजधानी संविधान, कानुन अनुसार तय हुने पनि स्पष्ट पार्नु भयो ।
प्रदेश नम्बर ३ प्रदेशसभाको सभामुखको भूमिका निर्वाह गर्दै आउनु भएका पौडेलले मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभामा विजयी हुनु भएको थियो । हेटौडाका विकास योजनाकार पौडेल २०६४ र २०५४ सालमा हेटौडा नगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको थियो । ७० वर्षीय पौडेल ३७ वर्षयता राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले २०५४ सालदेखि नेपाल नगरपालिका संघको नेतृत्व कुशलतापूर्वक सम्हाल्नु भएको थियो ।

