मोटरबाटोबिनै गाडी खरिदको बोलपत्र !

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

 

हुम्ला, २६ माघ।सिमीकोट गाउँपालिकाले यही माघ २४ गते गाडी खरिदका लागि बोलपत्र आह्वान गरेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । गाउँपालिकाले गाडी खरिदका लागि रु ४३ लाख ५५ हजार २३० विनियोजन गरेको पाइएको छ । बिना पूर्वाधार गाउँपालिकाले गाडी खरिदको बोलपत्र आह्वान गरेको हो ।

राष्ट्रिय सडक सञ्जालले समेत नजोडिएको एकमात्र जिल्ला हुम्ला हो । छिमेकी राष्ट्र चीनसँगको नाकाको हिल्सा–सीमकोट सडकखण्डले समेत जोड्न बाँकी रहेको छ । स्थानीय सरकारको गठनपश्चात् पनि स्थानीय सरकारले विकास बजेटलाई जनप्रतिनिधि तथा कर्मचारीलाई भ्रमण तथा दैनिक भत्तामा खर्च गरी चरम दुरुपयोग गरिरहेको पाइन्छ । यस गाउँपालिकाले पनि स्थानीय पदाधिकारी र कर्मचारीलाई ज्याकेट खरिद गरी वितरण गरेको पाइएको छ । स्थानीय बजारमा रु दुई हजार ५०० मा पाइने ज्याकेटलाई रु पाँच हजारमा खरिद गरी ४६ जना प्रतिनिधि र ३० जना कर्मचारी गरी जम्मा ७६ जनालाई वितरण गरेको छ । ज्याकेट खरिदमा रु तीन लाख ८० हजार गाउँपालिकाको खर्च भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार अत्यन्त चिसोका कारण गाउँ कार्यपालिकाले निर्णय गरेर नै ज्याकेट खरिद गरी वितरण गरिएको जानकारी दिनुभयो ।