काठमाडौँ, १ फागुन। नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा आज साँझ सैनिक मञ्च टँुडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सरिक हुनुभयो ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र छत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष विपीन रावत सहभागी हुनुहुन्थ्यो । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुनुहुन्छ ।
सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो । सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए ।
कार्यक्रममा शान्ति सेनामा संयुुक्त राष्ट्र संघमा सहभागी भएको ६० वर्ष पुगेको अवसरमा नेपाली सेनाद्वारा विभिन्न मिसनमा भएको सहभागिताको झलक प्रस्तुत गरिएको थियो ।
सेनाले शिवरात्रिका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरी सेना दिवस भव्य रुपमा मनाएको छ । सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

