‘संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ ‘ -प्रधानमन्त्री देउवा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताउनुभएको छ । देशवासीको नाममा आज सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई म बधाई एवं धन्यवाद ज्ञापन गर्दछु ।” नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा संविधानअनुसार तीनै तहका निर्वाचन सम्पन्न गराउने प्रमुख प्रतिबद्धताका साथ गत जेठ २३ गते नेकपा (माओवादी केन्द्र) लगायत दलको समर्थनमा चौथो पटक मुलुकको ४०औँ प्रधानमन्त्री बन्नुभएको थियो । देशवासीका नाममा सम्बोधनपछि आजै उहाँले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले भन्नुभयो, “मैले मुलुकको सर्वोच्च कार्यकारी पद सम्हाल्न आउँदा गरेका संविधान कार्यान्वयन गर्ने र शान्तिपूर्ण रुपमा आमसहभागितामा निर्वाचन गराउने मेरा प्रतिबद्धता पूरा गरेको छु । संघीयता कार्यान्वयनका लागि नयाँ ऐनहरु, प्रशासनिक पुनःसंरचनाअनुरुप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको छु ।”