काठमाडौँ, ५ फागुन ।उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४९औँ हप्तामा आज पशुपति राममन्दिर अघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।
पशुपति क्षेत्रमा शिवरात्रिका अवसरमा धेरै भक्तजनको उपस्थिति रहेकाले धेरै फोहर जम्मा भएको थियो । पशुपति क्षेत्रबाट व्यवस्थापन गरिएका फोहर दुई मेट्रिक टन काठमाडौँ महानगरपालिकाको गाडीमा व्यवस्थापन गरी अरू फोहर पशुपति क्षेत्र विकास कोषले नै व्यवस्थापन गर्ने भएको छ ।
सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, कोषका सदस्य सचिव डा प्रदीप ढकाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको संस्थागत सहभागिता थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१०औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।
रुद्रमती सफाइको २०५औँ हप्तामा गौशाला–रातोपुल–ज्ञानेश्वर–कमलपोखरीसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।
‘सफाइमा आफ्नो घर वरपर सफा राखौँ, फोहर नफालौँ’ भन्ने जागरण फैलाइएको थियो । अभियानमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्नो घरअघि फोहर फालेमा जरिवाना गरिने जानकारी गराउनुभयो । अर्को हप्तादेखि सडकमा फोहर फाल्ने स्थानीयवासीलाई वडाका कर्मचारीले जरिवाना रसिद काट्नेछन् । यसरी जम्मा भएको कोष सफाइमै लगाइनेछ ।
बिजुलीबजारबाट गोपीकृष्णपुलसम्मको नदी किनार दायाँबायाँ सडक निर्माण गर्दा किनारमा जम्मा भएको फोर रुद्रमतीमै फाल्दा यो क्षेत्र प्रदूषित बनेको समाजका उपाध्यक्ष गिरीले बताउनुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक निर्माणको जिम्मेवारी दिएको निर्माण व्यवसायीले फोहर नदीमा फालेको उहाँले जानकारी दिनुभयो ।
चक्रपथ सफाइको ४५औँ हप्तामा धूम्बाराहीचोकबाट चप्पल कारखानासम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितसहित ५०० जनाभन्दा बढी अभियन्ताको सक्रियता थियो । सडकको दायाँबायाँ भागमा निर्माण गरिएका दुईवटा चिया बेच्ने टहरा सफाइका क्रममा भत्काइएको अभियन्ता तिलक बस्नेतले बताउनुभयो ।
कार्यक्रममा मन्त्री पण्डितले उपत्यकालाई केही महिनामै मास्क नलगाई हिँड्न सकिने बनाउने प्रतिबद्धता व्यक्त गर्दै उपत्यकालाई प्रदूषणरहित बनाउन यहाँ बस्ने सबैको सक्रिय सहयोग र समन्वय आवश्यक पर्ने छ भन्नुभयो । हाल राजधानी काठमाडौँमा मास्क नलगाई हिँड्ने मानिस भेट्न मुस्किल छ । यसले गर्दा राजधानी मास्कमाडौँ बनेको अभियन्ताको गुनासो छ ।

