ओली र दाहालबीच भेटवार्ता, कसैको प्रलोभनमा नपर्न दाहाललाई सुझाब

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,५ फागुन । सरकार गठन पछि आज पहिलो पटक प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । पार्टी एकतालाई पछि पार्दै नेकपा एमालेले सरकारलाई प्राथमिकतामा राखे पछि यी दुई नेतृत्व बीचको सम्बन्धमा चिसोपना देखा परेको थियो ।
माओबादीले पार्टी एकता पछि मात्रै सरकार गठनमा लाग्नु पर्नेमा जोड दिदै आए पनि त्यसो नभएपछि यी दुई नेता बिच सपथग्रहण कार्यक्रममा समेत भेटघाट हुन सकेको थिएन । माओबादी अध्यक्ष दाहालले स्पथग्रहण कार्यक्रमलाई त्यति महत्व नदिई एक कार्यक्रममा सहभागि हुन जिल्ला बाहिर पुग्नु भएको थियो ।
आज भएको भेटबार्तामा पार्टी एकतालाई निष्कर्षमा र्पुयाउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको छ । दाहाल र ओलीको भेटवार्तामा सरकार गठनलाई पूर्णता दिने र पार्टी एकताका बाँकी विषयमा सहमति जुटाउने विषयमा छलफल भएको हो ।
जिल्ला भ्रमणमा निस्कनु अघि माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग एक्लै भेटवार्ता गर्नु भएको थियो । त्यसक्रममा भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा र्पुयाउने सहमति भएको छ ।
त्यसपछि महोत्तरी पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकतालाई कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ । जिल्लाको हात्तीलेटमा आयोजित जनसभामा दाहालले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताउनु भयो । तर, कसैले षडयन्त्र गरेपनि वाम एकता भएरै छाड्ने उहाँको दाबी थियो । गठबन्धन फुटाउने षड्यन्त्र भई रहेको बताउँदै उहाँले त्यो षड्यन्त्र अन्तिम समयसम्म पुरा हुन नदिने जिकिर गर्नु भयो । वाम एकता भाड्न दक्षिणपन्थी र देशभित्रका बिरोधीहरु लागेको भन्दै उहाँले बिरोधीको एम्बुसमा कोही नेता कार्यकर्ता नपर्न र सचेत रहन समेत आग्रह गर्नु भएको छ ।