बाजुरा, ८ फागुन।बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभएको छ ।
घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ ।