कपिलवस्तु, ९ फागुन । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो ।
उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष अघि यहाँ मानिसको बसोबास भएको अनुमान गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाभन्दा करिब चार किलोमिटर पूर्वतर्फ तथा लुम्बिनीबाट करिब २० किलोमिटर पश्चिमतर्फको यस क्षेत्र स्थानीय कुदान, अरौँराकोट तथा तिलौराकोट र लुम्बिनी भ्रमण गर्ने तीर्थालुका साथै कर्मचारी, व्यापारी आवतजावत गर्दा विश्रामस्थलको रुपमा प्रयोग हुँदै आएको छ ।

