रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौँ, १० फागुन ।धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ ।रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाका अनुसार साधारण शेयर निष्कासनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रुपमा रहेका साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने विश्वास लिइएको आयोजना प्रमुख कोइरालाको भनाइ छ ।

ती दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन् । सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् भने रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्कासन गर्नेछ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्कासन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

रसुवागढीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढी हाइड्रोले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।