काठमाडौँ, १३ फागुन । यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ । फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् ।
“चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे ‘सीज’ गरी सरकारले लिलाम गर्छ, यसैले फागुन मसान्तसम्म पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।