मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ -अर्थमन्त्री डा खतिवडा

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहालीपछि आयोजित समारोहमा उहाँले संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्ने बताउनु भयो ।अर्थमन्त्री डा खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने बताउनुभयो ।

संविधानले लोककल्याणकारी राज्य हुँदै समाजवादउन्मुख हुँदै गर्दा संविधानप्रदत्त लोककल्याणकारी राज्यको भूमिकालाई अग्रणी नेतृत्व दिने जिम्मेवारी लिने क्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले आर्थिक समृद्धि र गरिबी निवारणमा अवरोध गर्ने सरकारी वित्त व्यवस्थापनमा देखिने अनुशासनहीनताको अन्त्य गर्नुपर्ने जोड दिदैं सरकारी वित्त प्रणालीमा अनुशासन कायम गराउने र खर्चको प्रभावकारितामा अघि बढाउने बताउनु भयो ।
उच्च आर्थिक वृद्धिको इञ्जिन निजी क्षेत्र भएकाले आन्तरिक तथा बाह्य क्षेत्रलाई परिचालन गरेर परिकल्पना गरेका विकासका आयोजना र पूर्वाधारलाई अगाडि बढाउने बताउँदै उहाँले व्यापार लगानी र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुने स्पष्ट पार्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरको जिम्मेवारी सम्हालीसक्नुभएका डा खतिवडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित अर्थशास्त्री हुनुहुन्छ ।