दार्चुला, १६ फागुन।भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।
भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् ।
हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो ।
भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ ।