गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

चितवन, १६ फागुन। धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा माधव आचार्यका अनुसार एक वर्ष छ महिना अघिबाट रामपुरमा उक्त वीर्य होलस्टेन गाईमा प्रयोग गरिँदै आएको छ । यो महिनामा मात्रै तीनवटा बाच्छी जन्मिएको उहाँले बताउनुभयो । हालसम्म ५० वटा गाईमा वीर्य प्रयोग गरिएको र सातवटाले बाच्छी जन्माइसकेका छन् भने अन्य ब्याउने तयारीमा छन् । उहाँका अनुसार सो वीर्यबाट सतप्रतिशत बाच्छी मात्रै जन्मने गर्दछन् । वीर्य रहने मात्रा भने २५ प्रतिशत मात्रै हुने भएकाले दुई÷तीन पटक वीर्य प्रयोग गर्नुपर्ने हुन्छ ।

नश्ल सुधार भएर अमेरिकाको शुद्ध होलस्टेन गोरुको वीर्य प्रयोग हुने हुँदा जन्मने बाच्छीको तौल निकै बढी हुने गर्दछ भने गाईले बढी दूध दिने आचार्यले बताउनुभयो । उहाँका अनुसार उक्त वीर्य प्रयोग गरेका गाईले एक दिनमा २६ लिटरसम्म दूध दिएका छन् ।