काठमाण्डौ,१६ फागुन । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेताको उम्मेदवारी घोषणा गर्नु भएको छ । सभापति देउवाले आज पार्टी संसदीय दलको नेतामा आफू उम्मेदवार बन्ने औपचारिक घोषणा गर्नु भएको हो ।
पार्टीका महामन्त्री डा. शशांक कोइरालाले होलीको अवसर पारेर काठमाडौंको टोखास्थित आफ्नै निवासमा आयोजना गर्नु भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संचारकर्मीमाझ आफूले संसदीय दलको नेतामा उम्मेदवारी दिने संक्षिप्त प्रतिक्रिया दिनु भएको हो । उहाँले सभापति भएकाले दलको नेतामा आफ्नो उम्मेदवारी स्वभाविकै हुने तर्क पनि गर्नु भयो ।
यता, दलको नेतामा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई हराउने दावी गर्नु भयो । उहाँले देउवा पार्टी र सरकार दुवैको नेतृत्व गर्न पूर्णत असफल भएकाले पनि पार्टीले आफूलाई संसदीय दलको नेतामा विजयी गराउने तर्क समेत गर्नु भयो । नेता सिंहले देउवालाई पुनः संसदीय दलको नेता बनाए पार्टीलाई हित नहुने बताईरहनु भएको छ ।
सिंहलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पनि समर्थन छ । वरिष्ठ नेता पौडेलले आफूले सभापति देउवालाई दलको नेतामा उम्मेदवारी नदिन पटक पटक आग्रह गर्दै आएको स्मरण गराउनु भयो । उहाँले देउवालाई संसदीय दलको नेता बनाउँदा राम्रो सन्देश नजाने भएकाले सर्वसम्मत ढंगले चयन होस भन्ने पक्षमा आफूहरु रहेको पनि स्पष्ट पार्नु भयो ।महामन्त्री शशांक कोइरालाले पार्टी संकटमा परेका बेला संसदीय दलको नेताका लागि चुनावी प्रतिष्पर्धा गर्न नहुने धारणा राख्नु भयो । उहाँले सर्वसम्मतिमै दलको नेता चयन गर्न आफूले अन्तिम समयसम्म पनि पहल गर्ने बताउनु भयो ।आगामी सोमबार काँग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ । महामन्त्री कोइरालाले सर्वसम्मति भए आफू दलको नेता बन्ने चाहना व्यक्त गर्दै आउनु भएको छ ।

