राष्ट्रपतिबाट प्रतिनिधिसभा र राष्ट्रियसभाकी ज्येष्ठ सदस्यलाई शपथ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, २० फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिनुभएको थियो । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।

ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । उहाँ हाल ७५ र भट्ट ६९ वर्षका हुनुहुन्छ । शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक एवं सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।