काठमाडौँ, २० फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
संसदीय दलको नेताको उम्मेदवारका लागि आज फागुन २० गते अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन तालिकाअनुसार आजै मतदाता नामावली प्रकाशन भइसकेको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।
सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिनुभयो । सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने उहाँले जानकारी दिनुभयो ।