काठमाडौँ, २१ फागुन ।पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी दुईदिने औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डौ आइपुग्नु भएको छ । उहाँ बिशेष बिमानबाट ३२ सदस्यीय टोलीको नेतृत्व गर्दै आउनु भएको हो ।
प्रधानमन्त्री केपी ओलीले आज नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोजको आयोजना गर्नु भएको छ । त्यहीं नै उहाँहरुबीच दुईपक्षीय वार्ता हुने छ। भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताउनु भयो।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो।परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले भोली स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु हुने छ।