काँग्रेस संसदीय दलका उपनेतामा गच्छदार मनोनयन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गर्नुभएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गर्नुभएको हो ।

बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको नेता निर्वाचित गर्नुभएकामा सांसदलाई धन्यवाद दिनाका साथै संसद्मा सदैव क्रियाशील रहँदै सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । उहाँले सांसदहरुले संसद्मा निर्वाह गर्ने भूमिका आधारमा पार्टीले मूल्यांकन गर्नेसमेत बताउनुभयो । बैठकमा नेता प्रकाशमान सिंहले पार्टीका सभापति देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएकामा बधाई एवं कार्यकालको शुभकामना दिनुभयो ।