काठमाडौँ, २३ फागुन। अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उहाँ अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थाल्नुभएको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताउनुभयो ।
विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ आँै राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहनुभएको छ ।

