काठमाडौँ, २५ फागुन ।भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार तीन लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन् ।
पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माणकार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिनसक्ने कार्यविधि छ । लाभग्राहीले निवेदन दिएपछि प्राधिकरणले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् । दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये दुई लाख ८८ हजार २३ जना लाभग्राहीको प्रमाणीकरण पनि भइसकेको छ । बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।
प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । भूकम्प अतिप्रभावितका साथै कम प्रभावित जिल्लामा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या वृद्धि भइरहेको छ । कम प्रभावित लमजुङका ६५२, चितवनका ५०२ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् ।
Copyrights © 2024 All Rights Reserved by Newsbanknepal