राष्ट्रियसभामा मनोनीत तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न नपाउने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराउनुभएको हो । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ ।

यसअघि सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उहाँहरु उपस्थित हुन पाउनुभएको थिएन । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले फागुन २३ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश जारी गरेपछि उहाँहरुलाई शपथ लिन बाटो खुलेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई फागुन ८ गते नै राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो । नेपालको संविधानमा सातै प्रदेशबाट आठ/आठ जनाका दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनीत तीन जना गरी कूल ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने प्रावधान छ । राष्ट्रियसभा सदस्यको शपथ लिए पनि डा खतिवडा, विडारी र डा पौड्यालले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न पाउनुहुने छैन