काठमाण्डौ,२८ फागुन ।नेकपा एमालेका नेता सुवाष नेम्वाङले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा बैशाख नौं गते हुने दावी गर्नु भएको छ । एमाले नेता नेम्वाङले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर २ पार्टीबीच एकता हुने विषयमा छलफल भईरहेको जानकारी दिनु भएको हो । सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले पार्टी एकतामा अव ढिलाई नहुने पनि स्पष्ट पार्नु भयो । पार्टी एकताका लागि गठित २ कार्य दलले प्रतिवेदन बुझाएलगत्तै पार्टी एकताको औपचारिक घोषणा हुने नेता नेम्वाङको भनाई छ । उहाँले पार्टी एकतालाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समिति र कार्यदलबीच गृहकार्य भईरहेको पनि बताउनु भयो ।
संसद र संसदीय गतिविधिमा बढि ध्यान दिनु परेको कारण पार्टी एकता कार्यदलले अपेक्षा अनुसार काम गर्न नपाएको दुवै दलको भनाई छ । २ पार्टीबीच एकीकरणको दस्तावेज तयार पार्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको विधान निर्माण कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा नेतृत्वको संगठन निर्माण कार्यदल गठन गरिएको छ । नेता नेम्वाङले दुवै कार्यदलले आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएको पनि बताउनु भयो । उहाँले पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गर्नु भयो ।नेता नेम्वाङले दुवै दलको नेतृत्वले पार्टी एकताको अवधारणा अनुसार काम गरिरहेको पनि स्मरण गराउनु भयो ।

