बेनी, म्याग्दी ५ चैत । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन् ।
शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ ।
म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजित पाइन्छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्माले बताउनुभयो ।
नुनिलो र टर्रो स्वाद हुने शिलाजित भिर पहरामा मात्र पाइन्छ । शिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर शिलाजित बत्रे गर्दछ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धीलगायतका रोग निको हुने जनविश्वास छ ।

