वीरगञ्ज ६ चैत । मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।
नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले भन्नुभयो, “नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्दा सतर्क हुने भएकाले नाम गोप्य राखिएको बताउनुभयो ।
उहाँले पक्राउ परेका व्यक्तिसँग बयान लिने क्रम जारी रहेको र नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुलेकाले भारत सरकारको सहयोगमा ती कम्पनीलाई कारवाहीको दायरामा ल्याउन आन्तरिक राजश्व विभागसँग छलफल भइरहेको स्पष्ट पार्नुभयो ।
विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब रु तीन करोड ५० लाख मूल्य बराबरको ८६ हजार ४७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेका बेलामा पक्राउ परेको थियो ।
हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धानका क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कुलप्रसाद राजभण्डारी, हिमालयन कार्गाेका सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेको थियो ।

