काठमाडौँ, ६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसँग देशभरिका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको छ । आयोगले आर्थिक वर्ष २०७३/७४ मा कार्यरत रहेका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको केन्द्रका सम्पत्ति विवरण शाखाका शाखा अधिकृत एकराज पोखरेलले जानकारी दिनुभयो ।
केन्द्रले बुझाएको सम्पत्ति विवरणअनुसार कर्मचारीको कम देखिएकाले आयोगले कूल दरबन्दी र कार्यरत संख्या मागेको उहाँले बताउनुभयो । केन्द्रले निजामती, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक र अन्य निकायमा कार्यरत रहेका कर्मचारीको सम्पत्ति विवरण संकलन गरेर आयोगलाई बुझाउने गरेको छ । केन्द्रले आयोगलाई बुझाएको सम्पत्ति विवरणअनुसार चार लाख ६८ हजार २७४ कूल दरबन्दी रहेको देखिएको छ । जसमध्ये चार लाख ४९ हजार १४० जना कर्मचारी तथा सार्वजनिक पदधारणा गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाएका छन् भने ४.२६ प्रतिशत अर्थात् १९ हजार १३४ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।
यसैगरी आयोगले स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण पनि यथासक्य पठाउन केन्द्रलाई निर्देशन दिएको छ । निर्वाचित भएपछि के कतिले सम्पत्ति विवरण बुझाए तिनको सम्पत्ति विवरण बुझाउन केन्द्रलाई निर्देशन दिएको हो ।

