सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १० चैत । नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएकोे छ । पक्राउ पर्ने महिला नक्कली परीक्षार्थीमा काठमाडौँ मनमैजुकी कविता श्रेष्ठ, कैलालीकी जानकी माझी, मनिषा विष्ट र दोलखाकी सम्झना मगर रहेकी छिन् ।

यसैगरी भोजपुरका गोपाल ढकाल, बर्दियाका प्रकाश भण्डारी र गौतम राना, कैैलालीका समिप रोकाय, कास्कीका लोचन वाग्ले, गुल्मीका मोहित भण्डारी, दोलखाका सुदीप कार्की र दिवस कार्कीलाई नक्कली परीक्षार्थीका रुपमा परीक्षामा सामेल रहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश आफन्तको परीक्षा दिन गएका भेटिएको छ भने केहीले भने पैसा लिएर जाँच दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि पौडेलले नक्कली परीक्षार्थीको अभियोगमा पक्राउ परेकालाई कानूनअनुसार कारवाही चलाइने जानकारी दिनुभयो ।