काठमाण्डौ,१२ चैत ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विदेश नीति स्पष्ट रहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर रहेको पनि बताउनु भयो । उहाँले भारत र चीनसँगको सम्बन्धलाई अझै दरिलो र भरिलो बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विदेश नीतिलाई बलियो बनाउन मित्रतापूर्ण सम्बन्ध कायम गर्नुपर्ने तर्क पनि गर्नु भयो । उहाँले समानताका आधारमा नेपालले दुई ठूला छिमेक भारत र चीनसँगको सम्बन्धलाई अझै उचाईमा पु¥याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले नेपालको विदेश नीति मित्रतामा आधारित हुने पनि स्मरण गराउनु भयो । उहाँले मित्रतापूर्ण सम्बन्धनै विदेश नीतिको मूल चुरो भएको पनि उल्लेख गर्नु भयो । सरकार समानतामा आधारित विदेश नीतिको पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले राष्ट्रिय हित र मुलुकको आर्थिक कूटनीतिलाई बलियो बनाउने सूत्र पनि मित्रतापूर्ण सम्बन्ध नै भएको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि मुलुकप्रति भैरभाव नराख्ने पनि बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धका विविध आयाम समेटिएको पुस्तक विमोचन गर्नु भएको थियो ।

