नुवाकोट, १३ चैत । गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराउनुभएको छ । सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गर्नुभएको छ ।
गौहत्या गर्न पाउनुपर्ने एवं त्यसको मासु खान पाउनुपर्ने कानून चाहिने भनेर माग गरिएको भनेर आएको समाचार झुठो एवं निन्दनीय रहेको र आफू त्यसरी प्रस्तुत नहुनेमा जानकारसमेत रहेको उपसभामुख तामाङले स्पष्ट पार्नुभएको छ । नुवाकोटको क्षेत्र नं १ प्रदेश ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश नं ३ को उपसभामुखमा निर्वाचित हुनुभएका तामाङ पूर्व कृषि विकास राज्यमन्त्रीसमेत हुनुहुन्छ ।

