भक्तपुर, १७ चैत । आगामी वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यसवर्ष स्थानीय ४६ वर्षका बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्ने भएका छन् । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले आज यसबारे जानकारी दिँदै बोडेको वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेड्न तयार भएको बताउनु भएको हो ।
यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडेका उहाँकी आमाको निधनपछि बोडेका जुजुभाई बागश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्नु भयो भने गतवर्ष पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष छैटौँ पटक जिब्रो छेड्ने भएको बताउनुभयो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर वैशाख २ गते मध्याह्नमा कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

