काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवाद बनाउन नपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “हामी हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ तर ढिलासुस्ती गर्ने पक्षमा पनि छैनौँ, यो प्रक्रियाबाटै हुन्छ ।” दुई दलबीच एकताका लागि कार्यदलले काम गरिरहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण यही चैत २३ देखि २५ गतेसम्म हुँदैछ ।
प्रधानमन्त्री ओलीले अबको नेपालमा कोही गरिब र कोही धनी नहुने उल्लेख गर्दै स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गरी स्वदेशमा युवालाई रोजगारी दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अधिकतम उत्पादन, न्यायोचित वितरण र आर्थिक बचत तथा लाभतर्फको यात्रा शुरु हुनेछ ।

