नेपाली सेनाद्वारा लिबाङ–थबाङ रिङरोड निर्माण सम्पन्न

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 रोल्पा, २२ चैत । वर्षांैदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ ।

लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भिरमा पुगेर रोकिएको थियो । नेपाली सेनाको पहलमा शिरक्याङ भिर फोरिएपछि अब थबाङ, उवालगायतका अन्य स्थानमा सहजरुपमा सवारी आवागमन हुने भएको छ ।
रोल्पा जिल्लाको बाह्रौँ जिल्ला परिषद् २०६५ ले रोल्पा जिल्लाका सबै गाविसमा सडक सञ्जालले जोड्ने निर्णय गरी बाटो शुरुवात् गरे तापनि वर्षाैंदेखि अनेक प्रयत्न गर्दा पनि फुटाउन नसकिएको चट्टान केही समयअघि नेपाली सेनाले करीब दुई महिनाको प्रयासमा फोरेको थियो । यसरी बाटोमै अवरोध बनेको चट्टान फोरेसँगै रोल्पाको साविकको उवा हुँदै थबाङ गाविसमा मंगलबार पहिलो पटक मोटरबाटो पुगेको छ ।

शिरक्याङ भिरमा रहेको कडा चट्टान फुटाउँदा धनजनको क्षति हुनेखालको देखिए तापनि बिनाबाधा व्यवधान सहजतापूर्वक काम सम्पन्न भई मोटरबाटो जोडिएपछि आफू निकै हर्षित भएको खड्गदल गण, लिबाङ ब्यारेक, रोल्पाका गणपति अजय गुरुङले बताउनुभयो । उहाँका अनुसार भूगोलका कारण काम गर्न निकै अप्ठेरो तथा जोखिमपूर्ण थियो ।