काठमाडौँ, २४ चैत । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५६औँ हप्तामा आज थापाथली पुल क्षेत्रको नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुक्तिनाथ विकास बंैकलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता रहेको थियो ।
सफाईमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, वाग्मती सफाइ सद्भावनादूत नायिका मनिषा कोइरालालगायत ५५० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिका पूर्वसञ्चालक समिति सदस्य नारायणकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–५ स्थित साकुरा वाटिका मुनिको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । रुद्रमती सफाइको २११औँ हप्तामा रातोपुल–गौशाला–भण्डारखाल उद्यान–जयवागेश्वरी–कालोपुल–ज्ञानेश्वर हुँदै आनन्द भैरव मन्दिरसम्म जनचेतनामूलक सफाइ गरियो । यसैगरी सिफलस्थित भण्डारखाल उद्यान परिसरमा पनि विशेष सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।