मुगु, १ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै गत सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताउनुभयो । उहाँले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटामा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताउनुभयो ।
प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएको र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गर्नुभयो । राष्ट्रहरुबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने बताउनुभयो ।
प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो । (रासस)

