धिमाल जातिको जात्री पर्व शुरु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

मोरङ, २ वैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट शुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । मोरङको भोगटेनीबाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।

प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।

सिर्जातअर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताउनुभयो । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उहाँले जानकारी दिनुभयो । यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाण बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाइ छ ।