काठमाडौँ, २ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी र लागुऔषध कारोवारमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।
महानिरीक्षक खनालले आज उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत अधिकृत तथा जवानलाई सम्बोधन गर्दै अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारी निर्भिक र निडर भई निष्ठाका साथ काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पका साथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न आग्रह गर्नुभयो । नयाँ वर्ष नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा निकाल्नुपर्ने उहाँको भनाइ थियो । महानिरीक्षक खनालले महिला तथा बालबालिकासम्बन्धी हुने अपराधका विषयमा थप संवेदनशील भएर अनुसन्धान गरी अपराध नियन्त्रणमा जोड दिनु भयाे ।