मुस्ताङ, २० वैशाख । मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ ।
मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । उहाँले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिनुभयो । वैशाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ । मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन् । थप एकवटा हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताउनुभयो । सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ ।

