काठमाडौँ, २३ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राष्ट्रिय पत्रकारिता दिवस–२०७५’ को अवसरमा पाँच पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रालयले यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट र डा राजेश अहिराजलाई प्रदान गर्ने भएको छ ।
त्यसैगरी ‘वरिष्ठ पत्रकार सम्मान’बाट सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिने भएको छ । राष्ट्रिय पत्रकारिता दिवस–२०७५ को सन्दर्भमा मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘छापा माध्यमदेखि डिजिटल मिडियासम्म’ विषयक अन्तक्र्रियामा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वको पुरस्कार छनोट समितिको निर्णयलाई सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभयो ।
उक्त पुरस्कार पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुहुने छ । सोही अवसरमा राज्यमन्त्री बाँस्कोटाले ‘पत्रकारिताका सतिसाल’ (मणिराज उपाध्याय स्मृतिग्रन्थ) नामक पुस्तकको विमोचन गर्नुभयो ।
पत्रकारहरु ब्रजेशराज शर्मा, रघु मैनाली, घमराज लुईंटेल र जीवनाथ खनालद्वारा सम्पादित सो स्मृतिग्रन्थमा स्व पत्रकार मणिराजको पत्रकारिता यात्राका आरोह–अवरोह, समकालीन पत्रकारिताको विवेचना, समकक्षी, राजनीतिकर्मी, प्रशासन तथा पेशाकर्मी र मिडियालगायत विषयलाई समावेश गरिएको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

