काठमाडौँ, ३१ वैशाख । घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए ।
विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गर्नुभयो र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्न निर्देशन दिनुभयो ।
प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार आजदेखि औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत् पाएका छन् । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विद्युत्भार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरुको सकारात्मक पहलका कारण औद्योगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विद्युत् दिन सकिएको बताउनुभयो ।
प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत्भार कटौती अन्त्य गरेको आइतबार साँझ नै हावाहुरीका कारण तराई मधेशका केही स्थानमा वितरण प्रणालीमा समस्या पैदा भएको छ ।

