काठमाण्डौ,३ जेठ । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर काठमाडौंमा एक कार्यक्रमका बीच २ पार्टीको एकीकरण भएको घोषणा गरिएको हो । नवगठित पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन २ पार्टीबीच एकता गरिएको उदघोष गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिको यात्रालाई सुनिश्चित गर्न दुई पार्टीबीच एकता गरिएको बताउनु भयो । उहाँले पार्टी एकता राष्ट्रहितमा समर्पित रहेको पनि बताउनु भयो । अध्यक्ष ओलीले पार्टी एकतामा सामेल हुन साना कम्युनिष्ट पार्टीहरुलाई पनि आह्वान गर्नु भयो ।
अध्यक्ष ओलीले दुई पार्टीबीचको एकताबाट नआत्तिन काँग्रेसलाई पनि आग्रह गर्नु भयो । उहाँले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले उसलाई पनि साथमा लिएर मुलुक निर्माणको अभियानमा जुटने योजना पनि अघि सार्नु भयो । दुई पार्टीबीचको एकता तानाशाही व्यवस्था ल्याउन नभएको पनि अध्यक्ष ओलीको स्पष्टिकरण छ ।अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताहरुलाई योग्यता, क्षमता र क्रियाशीलताको आधारमा जिम्मेवारी दिने पनि स्पष्ट पार्नु भयो । उहाँले राष्ट्रनिर्माणको अभियानमा उत्साहका साथ अघि बढन पनि एकीकृत पार्टीका नेता, कार्यकर्तालाई आग्रह गनुृ भयो ।
नवगठित पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिको चाहनालाई पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरिएको बताउनु भयो । उहाँले दुई पार्टी बीचको एकताले विश्व समुदायलाई नै नेपाल विकास र समृद्धिको दिशामा अघि बढेको सन्देश दिएको पनि स्पष्ट पार्नु भयो ।
अध्यक्ष दाहालले मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर २ पार्टीबीच एकता गर्ने अवसर प्राप्त भएकोमा गौरवको अनुभूति भएको पनि बताउनु भयो । उहाँले जनतासँग गरिएको प्रतिवद्धता पूरा गर्ने नयाँ युग सुरु भएको उल्लेख गर्दै त्यसमा विचलित नभई अघि बढन पनि नवगठित पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठूलो मेहनतपछि पार्टी एकता घोषणा गरिएको भन्दै अव जनताको पक्षमा काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनु भएको थियो । नवगठित दुई पार्टीको केन्द्रिय समिति ४ सय ४१ सदस्यीय रहेको छ । स्थायी समिति ४५ सदस्यीय बनाइएको छ भने केन्द्रिय सचिवालय ९ सदस्यीय बनाइएको छ । नवगठित पार्टीको महासचिवको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ भने पार्टी प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाउनु भएको छ ।

