नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार…

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, ११ जेठ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार …। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।

संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उहाँले भन्नुभयो, “सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष छ ।”

पूर्वसभामुख समेत रहनुभएका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको बताउनु भयाे ।

सांसद नेम्वाङले प्रधानमन्त्रीले प्रतिपक्षीलाई मिलेर अगाडि बढ्न पटक ÷पटक आग्रह गरेको स्मरण गर्दै जनताको भावना, चाहना अनुसार मिलेर निर्वाचनमा बोलेका प्रतिबद्धता पूरा गरौं भन्नुभयो ।

नेपाली काँग्रेसका विजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रम सपनामा महल बनाउने खालको आएको टिप्पणी गर्दै भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन, कृषि जलस्रोत जस्ता महत्वपूर्ण क्षेत्रमा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो ।

नेकपाका सांसद देव गुरुङ्ले समृद्ध नेपाल, सुखी नेपालको नारालाई सार्थक बनाउन नीति तथा कार्यक्रम आएको भन्दै अगामी बजेटमा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नुपर्छ भन्नुभयो । सबै जिल्लालाई सडक सञ्जालले जोड्न ऊर्जा उत्पादन बढाउन, कृषि उत्पादनमा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम अति महत्वकांक्षी भएको, सपना बाँड्ने मात्र काम भएको टिप्पणी गर्दै राजनीति स्थिरता बिना विकास सम्भव छैन, यसैले संविधान संशोधन गर्न माग गर्नुभयो ।

उहाँले तराई÷मधेश आन्दोलनका शहीद भएका परिवारलाई राहत दिने विषयमा नीति तथा कार्यक्रम मौन रहेको उल्लेख गर्दै जनसंख्या र भूगोलका आधारमा बजेट ल्याउनुपर्छ भन्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सरिता गिरीले आर्थिक वृद्धिदर बढाउने खालका गतिविधि बढाउन र प्रशासन संयन्त्रलाई चुस्त बनाउन सुझाव दिनुभयो । रासस