काठमाडौँ, १० साउन ।दुई वर्ष पहिले दुई वटा न्यारो बडी जहाज ल्याएर बजार विस्तारमा लागेको नेपाल वायु सेवा निगमले एक महिनाको अवधिमा दुई वटा वाइड बडी जहाज भित्र्याएको छ । आक्रामक रुपमा बजार विस्तार गर्ने र नयाँ नयाँ गन्तव्यमा सेवा दिने लक्ष्य लिएर निगमले नयाँ जहाज भित्र्याएको हाे। थप दश विमान खरिद गर्ने योजनामा रहेको निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो ।
फ्रान्सको तुलुजबाट नौ घण्टाको उडान गरेर निगमको दोस्रो वाइडबडी अर्थात् ‘मकालु’ नाम दिइएको जहाज आज विहान ९ बजेर १६ मिनेटमा अवतरण गरेको हो । जहाज अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा निगमले नयाँ जहाज ल्याएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाजको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।
वाइड बडी ए ३३०–२०० सिरिजको सो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो ।
दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

