काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।
सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उहाँहरुले आरोप लगाए ।
बैठकमा बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले अविरल वर्षाका कारण गत शनिबार बाजुरा जिल्लामा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको तथा अन्य केही घाइते भएको, जिल्लाभर पहिरोले सयौँ नागरिक विस्थापित भए पनि राहत, पुनःस्थापना र क्षतिपूर्तिको नपाएकोमा गुनासो गरे ।
सांसद सिंहबहादुर विश्वकर्माले वर्षाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका अन्तर्गत तादी खोलाको पुल बगाउँदा बिरामी बोकेको एम्बुलेन्स, विद्यार्थी तथा स्थानीय जनतालाई आवतजावतमा समस्या परिरहेको बताए । उनले अरनिको राजमार्गसम्म पानीको सतह बढेर ठूलो धनजनको क्षति हुने खतरा देखिएको भन्दै बगेको पुलको सट्टामा शीघ्र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बेलीब्रिज राख्नुपर्नेमा जोड दिएका थिए ।
सांसद रमेशजङ्ग रायमाझीले तराई–मधेशका किसानले खेतीपातीको समयमा कृषि मल नपाउँदा ठूलो मर्कामा परिरहेको भन्दै मलखादको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनमा चिकित्सक तथा पत्रकारको असन्तुष्टि रहेकाले उनीहरुको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखे।
सांसद बिन्दादेवी आले रानाले आउँदो भदौ १३ र १४ गते काठमाडौँमा हुने बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास विम्स्टेकको चौथो सम्मेलन राष्ट्रियसभा गृहमा नगरी सरकारले अन्यत्रै गर्न लागेको सूचना प्राप्त भएको भन्दै त्यसबाट सरकारको ठूलो आर्थिक नोक्सानी हुनेतर्फ सचेत गराउएकी छिन । उनले सो सम्मेलनमा नेपालको बढ्दो वैदेशिक घाटा र नेपाली वस्तुको भन्सार छुटको विषयलाई प्राथमिकताका साथ राख्न पनि सरकारसँग माग समेत गरिन ।
सांसद खेमराज नेपालीले गत साउन २९ गते मोरङ जिल्लाको लेटाङ नगरपालिकास्थित जाँते माविको पिउने पानीमा विषादी हाल्ने दोषीको अहिलेसम्म पहिचान हुन नसक्नु दुःखद् रहेको बताए। उनले सो घटनाका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्न पनि सरकारसँग माग राखे ।
यसैबीच राष्ट्रियसभाको आजको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको आजको बैठकको अन्त्यमा भने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा ९पहिलो संशोधन० विधेयक, २०७५’ टेबुल गरे । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ५ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

