जनकपुरधाम। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा कर वृद्धि नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जनकपुरधाममा मंगलबारआयोजित प्रदेश नं २ को प्रदेश समन्वय परिषद्को पहिलो बैठकमा भन्नुभयो, “कर वृद्धिले जनतामा सङ्घीयताप्रति वितृष्णा उत्पन्न हुन सक्ने भएकाले कर वृद्धिको मानसिकता त्याग्नु पर्छ ।”
उहाँले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय, सहकार्य र एक अर्काको अस्तित्व स्वीकार गरी समृद्धि अभियानमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
संवैधानिक त्रुटिका कारण जिल्ला समन्वय समिति औचित्यहीन भएको चर्चा गर्दै मुख्यमत्री रावतले प्रदेश सरकारले जिल्ला समन्वय समितिका पदाधिकारीको तलब निर्धारण गरे पनि कानूनमा पदाधिकारीको जिम्मेवारी उल्लेख नगर्दा अन्योलको अवस्था सिर्जना भएको छ भन्नुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले संवैधानिक प्रावधान ंसङ्घीयताको भावना अनुरूप नभएका कारण प्रदेश सरकारका मन्त्रीलाई सङ्घीय सरकारका मातहतका कार्यालयविरूद्ध धर्नामा बस्नु परिरहेको छ भन्नुभयो ।
इञ्जिनियर तुलानारायण साहले धनुषा र महोत्तरीमा बालमृत्यु दर अधिक भएको तथ्य प्रस्तुत गर्नुभयो । बैठकमा सहभागीले कर, सिँचाइ, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, आम्दानी, सडक, हिंसा, बलात्कार, लागुऔषध, वन व्यवस्थापन, बालु, गिट्टी, नदी नियन्त्रणबारे ध्यानाकर्षण गराएका थिए ।
–––

