काठमाडौँ । तीजमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ ।
मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ । जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने कोषका सदस्यसचिव डा ढकालले बताउनुभयो । मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरिने जनाइएको छ ।
श्रीयन्त्रको पूजा र महाभोग लगाउने बेलामा भने दर्शन एवं पूजाका लागि मन्दिरको ढोका बन्द गरिने कोषले जनाएको छ । तीजका दर्शनार्थीको भीड बढी हुने भएकाले महँगा गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन कोषले भक्तजनलाई आह्वान गरेको छ ।
पशुपतिको नियमित दर्शन गर्नेका लागि बिहान छ बजे अगावै भुवनेश्वरी चोकस्थित सानो फलामे ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । तीजका अवसरमा आजैदेखि चार वटै सुरक्षा निकाय र कोषका सुरक्षाकर्मी समेतको एकीकृत सुरक्षा योजना बनाई कार्यान्वयन शुरु भएको छ ।
दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ ।
स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ताचप्पल कक्षको व्यवस्थापन एवं सञ्चालनलगायत सम्पूर्ण तयारी पूरा गरिएको कोषले जनाएको छ । मेला क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । वडा कार्यालयले जारी गर्ने पासका आधारमा स्थानीयवासीका सवारी आउन जान दिइने जनाइएको छ ।
पशुपति दर्शनका लागि ट्राफिक व्यवस्थापन सहज
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरितालिका तीजको अवसरमा बुधबार महिलालाई सहजरुपमा पशुपति मन्दिर दर्शन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई सहज बनाएको छ ।
महाशाखाले पशुपति क्षेत्रभित्र सहज दर्शन गर्नका लागि तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिल जान रोक लगाएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करलाई पनि रोक लगाएको हो ।
यसैगरी पशुपति दर्शनका लागि जाने तीर्थयात्रीलाई तिलगङ्गा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय, भारतीय दर्शनयात्रीलाई अमालकोट चौर र स्वदेशी तीर्थयात्रीलाई सिफलचौरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकरी दिनुभयो ।
यस्तै बानेश्वर तीनकुने भएर गौशाला जाने सवारीसाधन सोही रुटबाट फिर्ता हुने, रातोपुल गौशाला हुँदै बौद्ध चल्नेलाई जमल, नारायणगोपालचोक चावहिल हुँदै जाने, नयाँ बसपार्क चावहिल हुँदै जानेलाई सोही रुट फिर्ताको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसैगरी रत्नापार्क आउनेलाई पनि सोही रुट जाने व्यवस्था मिलाइएको छ ।
शुभकामना
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका ९तीज०का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ ।
नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको बताउनुभएको छ ।
चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गर्दै शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, वेशभूषा, गीतसङ्गीतलाई संरक्षण तथा संवद्र्धन गरिरहेका हुन्छन् ।”
राष्ट्रपति भण्डारीले देशको द्रुततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयङ्गम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक छ भन्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलको शुभकामना
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल मुख्यमन्त्रीले हिन्दू नारीको पर्व हरितालिका ९तीज०का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
तीज पर्वले सामाजिक र राजनीतिक जागरण ल्याउन ठूलो भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले राणाशासन, पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष यो अवसरमा स्मरण गर्दछु भन्नुभएको छ ।
विगतमा तीज पर्वमा गीतमार्फत राजनैतिक जागरण ल्याएर आन्दोलनलाई उत्कर्षमा पु¥याइएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अहिले उत्तिकै ध्यान दिन आवश्यक भएको बताउनुभएको छ ।
हरितालिका ९तीज० पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको उल्लेख गर्दै उहाँले सन्देशमा पारिवारिक र सामाजिक सामीप्यता बढ्दा मुलुकमा विश्वासको वातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ भन्नुभएको छ ।